अन्तर्राष्ट्रिय

उज्बेकिस्तानद्वारा संविधान सुधारको पक्षमा मतदानः निर्वाचन आयोग

१८ वैशाख, ताशकन्द । उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्ने गरी गरिएको संवैधानिक परिवर्तनको समर्थन गरेका छन् ।

निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् भने पूर्व सोभियत मुलुकमा करिब ८५ प्रतिशत मतदान भएको छ । मतदान नतिजाबारे प्रतिक्रिया जनाउँदै अधिकारवादी समूहहरूले सरकारको अधिनायकवादी प्रवृत्तिले असहमतिका लागि ठाउँ सीमित गरेको बताएका छन् ।


तत्कालिन शासक इस्लाम करिमोभको सन् २०१६ मा मृत्युपछि ६५ वर्षीय मिर्जियोयेभ राष्ट्रपति बनेका थिए ।

तीन करोड ५० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित मध्य एशियाली मुलुकमा संविधान संशोधनले शासन व्यवस्था र जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ छ ।

तर पर्यवेक्षकहरूका अनुसार मिरजियोयेभलाई मुस्लिम बहुल देशमा सबैभन्दा बढी फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रस्तावित परिवर्तनले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष पु¥याउनेछ र उनलाई थप दुई कार्यकाल सेवा गर्न सक्ने आधार मतदानबाट मिलेको छ । यस कानुनी संशोधनसँगै उनले सन् २०४० सम्म आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन् ।