अन्तर्राष्ट्रिय

सिरियाका राष्ट्रपतिद्वारा मध्यपूर्वमा शान्ति स्थापनार्थ चीनको भूमिकाको प्रशंसा

१८ वैशाख, दमास्कस। सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान–साउदी मेलमिलापलगायत महत्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गरेका छन् ।

शनिबार राजधानी दमास्कसमा मध्यपूर्व मामिलाका लागि चीनका विशेष दूत झाई जुनसँगको भेटमा असदले उक्त टिप्पणी गरेका हुन् ।

सिरियाको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित मुद्दाहरूमा चीनको दृढ समर्थनको सिरियाले सराहना गरेको उनले बताए ।

सिरियाले बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कभित्र रहेर चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई मजबुत बनाउन चाहेको उनले बताए ।

यसैबीच असदले इरान र साउदी अरबबीचको मेलमिलापमा सफलतापूर्वक मध्यस्थता गरेकोमा चीनलाई बधाई दिँदै यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

सिरियाको अन्य अरब राष्ट्रसँगको सम्बन्धलाई प्रबर्धन गर्न चीनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै असदले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न चीनले ठूलो भूमिका निर्वाह गरेकोमा स्वागत गरे ।

हालैका वर्षहरूमा चीन–सिरिया सम्बन्ध निरन्तर विकसित हुँदै गएको र राजनीतिक पारस्परिक विश्वास निरन्तर वृद्धि भएको उल्लेख गर्दै सिरियासँग मिलेर दुई देशको मुख्य चासोका विषयमा एकअर्कालाई दृढतापूर्वक सहयोग गर्न र नयाँ प्रगति हासिल गर्न दुवै पक्षबीच मैत्रीपूर्ण सहयोग लाई बढावा दिन चीन इच्छुक रहेको झाईले बताए ।

झाईले सिरियाको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान र कायम राख्नुपर्ने उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र पश्चिमा मुलुकलाई सिरियाविरुद्ध एकतर्फी प्रतिबन्ध र आर्थिक नाकाबन्दी तत्काल हटाउन आग्रह गरे। उनले सिरियाली जनतालाई मानवीय र विकास सहायता प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै चीन सिरियाको अरब मुलुकसँगको सम्बन्ध सुधारमा रचनात्मक भूमिका निर्वाह गर्न इच्छुक रहेको उल्लेख गरे।