राजनीति

आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारा नारामै सीमित: अध्यक्ष लिङ्देन

१८ बैसाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको जीवन सुरक्षित हुनुपर्ने बताएका छन् । उनले श्रमिकका सुरक्षाका लागि अत्यावश्यक पर्ने शिक्षा र स्वास्थ्य बीमा गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालद्वारा आयोजित एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा उनले श्रमिकले एक वर्षभरि काम गरेर पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्नु दुःखद रहेको बताए । अध्यक्ष लिङ्देनले श्रमिकले छोराछोरीलाई उचित शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा खर्च गर्न पनि नसक्ने भएकाले उनीहरूको परिवारको शिक्षा र स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान पु¥याउनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारा नारामै सीमित छ । श्रमिक दिवस मनाइराख्दा श्रमिकको अवस्था हामीले बुझ्न जरुरी छ ।” श्रमिकहरू कति मर्यादित, सुरक्षित, स्वस्थ छन् भन्नेतर्फ सरकार केन्द्रित हुन जरुरी रहेको धारणा उनले राखे । ट्रेड युनियनको आगामी आन्दोलन श्रमिका सुरक्षा मर्यादासँग केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

राप्रपाका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले सबैखाले श्रमलाई सम्मान गर्नुपर्ने धारणा राखे । श्रमसँगै समयको पनि उत्तिकै महत्त्व भएकाले श्रमिकले श्रम र समयलाई ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ थियो । 

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष चिरागमान कुँवरले श्रमिकका लागि महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताए । श्रम ऐन, २०७४ मा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू गर्न चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताए ।