समाचार

काठमाडौंमा बिहानैदेखि चर्को घाम, यस्तो छ आजको मौसम

२३ बैसाख, काठमाडौं । देशका धेरै ठाउँमा अहिले मौसम सफा रहेको छ । काठमाडौंमा बिहानैदेखि घाम चर्किएको छ ।

गएको शनिबारदेखि लगातार झरी परेको काठमाडौंमा हिजोदेखि मौसममा सुधार आएको हो । वर्षा भैरहेका देशका अरु ठाउँको मौसममा पनि सुधार हुँदै गएको छ ।

आज काठमाडौंमा पानी नपर्ने, तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी केही ठाउँमा दिउँसोपछि मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताए ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । देशका पश्चिमी क्षेत्रको पहाडी क्षेत्रमा दुई तीन दिन मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

प्रि–मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले चट्याङ्गबाट हुनसक्ने जोखिम बच्न आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन मौसमविद्को सुझाव छ ।