समाचार

दुई लाख रूपैयाँ घुससहित प्रहरीका सई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुससहित प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक सई विनोद विष्ट रहेका छन् ।

नेपाल प्रहरी विद्यालय बेलचौतारा तनहुँका तत्कालीन लेखापालसमेत रहेका विष्टलाई अख्तियारको टंगालबाट खटिएको टोलीले शुक्रवार घुससहित काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेवापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई बानेश्वरको एक होटेलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार उनको साथबाट ५० हजार नगद र एक लाख ५० हजारको चेक बरामद भएको थियो ।