राजनीति

कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आएको छः महामन्त्री थापा

३ जेठ, काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताए।

“अनुहारमा दाग लागेका बेला ऐना पुछेर समस्या समाधान हुँदैन, पार्टीभित्र शुद्धीकरणका लागि काम गर्ने बेला आएको छ, यसमा प्रजातान्त्रिक विचार समाजको पनि साथ र सहयोग आवश्यक पर्छ, समाजले कांग्रेसको शुद्धीकराणका लागि आलोचनात्मक दबाब दिनुपर्छ”– उनले भने ।

निर्वाचनअघि सरकारमा जानकै लागि गठबन्धन गर्नु गल्ती भएको स्वीकार गर्दै महामन्त्री थापाले त्यसलाई रोक्न नसक्नुसमेत कमजोरी भएको बताए । निर्वाचन परिणाम आइसकेपछि सत्ता समीकरण बनाउनु नै स्वाभाविक हुने उनको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रजातान्त्रिक पद्दतिको रक्षाका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यसंयन्त्रको गठबन्धनमा गरिएको मानव तस्करी भएको उहाँले सुनाए। “एकपटक मन्त्री भएकाहरु भ्रष्ट होइनन् भन्ने मान्न जनता तयार छैनन्, नक्कली भुटानी शरणार्थी प्रकरणमा आशङ्कमा रहेका कोही छुट्नुहुन्न, पहाड खनेर मुसा निकाल्ने काम फेरि गरिनुहुन्न, डेढ खर्ब जनसङ्ख्या रहेको भारतमा पाँच सय ४३ सांसद, तीन करोड जनसङ्ख्या रहेको नेपालमा दुई सय ७५ सांसद चाहिने हो कि होइन रु भन्ने अब बहस हुनुपर्छ, समानुपातिक प्रणालीले भ्रष्टाचार र विकृति बढाएकाले यस विषयमा पनि पुनःविचार गरिनुपर्छ”–नेता केसीले भने ।

संसारमै प्रजातन्त्र खतरामा

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा केदारभक्त माथेमाले संसारमै प्रजातन्त्र खतरामा पर्न थालेको बताए । उनले म्यानमार र ट्युनिसियाले केही समयअघि प्रजातन्त्र गुमाएको बताए । अहिले पनि ५२ देशमा प्रजातन्त्र खतरामा रहेको प्रतिवेदन आफूले अध्ययन गरिरहेको उनले सुनाए ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले लोकतान्त्रिक शासन व्यवस्थाको सूत्रपात भएको लामो समय बितिसक्दा पनि प्रजातान्त्रिक संस्कृति र संस्कारको विकास हुन नसकेको बताए । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले दलले गरेका गल्ती औँल्याउन नसके प्रजातान्त्रिक विचार समाजको सदस्य हुन नसक्ने बताए । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राजनीतिक रिक्तता पूर्ति गर्न प्रजातान्त्रिक दल सक्षम हुनुपर्ने बताए।

कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मान २०८० डा सुरेश मल्ललाई प्रदान गरियो । प्रथम राष्ट्रपति डा रामवरण यादवले उनलाई सम्मानपत्र, दोसल्ला र रु २५ हजार राशिसहित प्रदान गरे । प्रजातान्त्रिक आन्दोलनमा मल्लले पु¥याएको योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो । सो अवसरमा मल्लले नगद राशि भने समाजका अध्यक्ष केसीलाई नै हस्तान्तरण गरे ।

सम्मानित व्यक्तित्व मल्लले देश आर्थिक, सामाजिक र प्रजातान्त्रिक सङ्कटमा पुगेको उल्लेख गर्दै मानिसको चरित्र ह्रास भएकाले यस्तो अवस्था आएको बताए । समाजको लुम्बिनी प्रदेश, केन्द्रीय सदस्य मिलनचन्द्र खनाल, कास्की र चितवन जिल्ला शाखालाई पनि उत्कृष्ट काम गर्ने शाखा एवं सदस्यका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहाल, समाजका उपाध्यक्ष बिमला शाक्य, महासचिव गोकर्ण अर्याललगायतले हालसम्म भएका समाजका गतिविधिका बारेमा प्रकाश पारेका थिए । विसं २०५२ मा प्राध्यापक वासुदेवचन्द्र मल्लको सक्रियतामा समाजको स्थापना भएको हो । समाजमा प्रजातन्त्रवादी विचार राख्ने प्राध्यापक, पत्रकार, कानुन व्यवसायी, चिकित्सक, शिक्षकलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न आवद्ध रहेका छन् ।

आज बेलुकीदेखि नै समाजको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिने निर्वाचन समिति संयोजक डा मधुसुदन पुनले जानकारी दिए ।