कुराकानी

परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन : पूर्वसभामुख नेम्वाङ (अन्तर्वार्ता)

तत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) ससदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल हुनुभएको छ । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाल्नुभयो । उहाँले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गर्नुभयो । संविधासभाबाट संविधान जारी भएसगैँ उहाँले त्यसमा सफलता प्राप्त गर्नुभयो । पूर्वसभामुख नेम्वाङ अहिले पनि सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आउनुभएको छ । प्रस्तुत छ, १६ औँ गणतन्त्र दिवसका अवसरमा डेढ दशकदेखि मुलुकमा भइरहेका राजनीतिक र शासकीय प्रणालीसम्बन्धी अभ्यासबारे उहाँसँग गरेको कुराकानीको सम्पादित अंश :

संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्ने अवसर र प्रक्रियाबारे कसरी जुट्यो ?
मुलुकमा ७० वर्षअघिदेखि संविधानसभाद्वारा संविधान जारी गर्नुपर्छ भन्ने प्रसङ्ग उठेको थियो । विसं २०६२र६३ को संयुक्त जनआन्दोलन उत्कर्षमा पुगेसँगै जनताको त्यो चाहना र भावनाले मूर्तता प्राप्त गर्‍यो । संविधानसभाको दुई पटक निर्वाचन भई संविधान जारी भयो । जनताको यसअघि कहिल्यै नभएको पर्याप्त दबाबले मूर्तता प्राप्त गर्न सफल भएको हो । संविधानसभाबाट समयमा संविधान बन्नुपर्छ भनेर निरन्तर लागेकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतासहितको समाजवाद उन्मुख संविधान प्राप्त भयो । यो जनताले आफ्ना लागि बनाएको संविधान हो । यसअघि जारी संविधानका स्रोत शासक थिए । यो त्यस्तो संविधान हो जसको अधिकारको स्रोत जनता हुन् । त्यसैले संविधानको प्रस्तावनामै सार्वभौम सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक संस्था संविधानसभाले यो संविधान बनाएर जारी गरेका छौँ भनेर घोषणा गरिएको हो ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशपछि पनि भइरहेका अभ्यासप्रति अनेक टिक्का टिप्पणी सुनिएको छ, यसप्रति यहाँको धारणा के छ ?
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त संविधान र हाल अभ्यासमा रहेको शासन व्यवस्थाको कुनै विकल्प छैन । जनताको यो तहबाट संविधान बन्ने जुन यथार्थ छ, यो भन्दामाथि अब यो देशमा अर्को संविधान बनाउने कुनै पनि ठाउँ छैन । अब फेरी पनि अर्को परिवर्तनका कुरा गर्नुको कुनै अर्थ छैन । यही संविधानअन्र्तगत रही जुनसुकै परिवर्तन गर्दै अघि बढन सकिन्छ ।

मुलुक संङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि डेढ दशकमा भएका अभ्यास र उपलब्धिलाई कसरी हेर्नुभएको छ ?
अहिले हामीले अभ्यास गरेको संविधान जनताले–जनताका लागि बनाएको संविधान हो । जसको अधिकारको स्रोत नेपाली जनता हुन् । जसले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख देशलाई प्रदान गर्‍यो । यो संविधान अन्तर्गत सही प्राप्त उपलब्धि कार्यान्वयन गर्दै लैजानुपर्छ । राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिलाको सहभागिताको व्यवस्था गरेका छौँ । समावेशी समाजको कल्पना गरेका छौँ । यसबीचमा नेपाल र नेपाली जनताको हितका लागि थुप्रै काम हामीले सम्पन्न गरेका छौँ । राजनीतिक रुपमा यति धेरै परिवर्तन गरेका छौँ । जनतलाई पहिलो पटक सार्वभौम सम्पन्न तुल्याएका छौँ । जनता यति अधिकार सम्पन्न भएका छन् कि जनताको आर्शिवाद र समर्थन जितेर संसदमा पुग्नुस् जुनसुकै परिर्तन गर्न सकिन्छ । जहाँसम्म आफना प्रतिनिधिका कुरा छ, व्यक्ति र दल मन परेन भने परिवर्तन र छान्न सकिन्छ । त्यसका लागि निर्वाचन र संसदमार्फत जुनसुकै परिवर्तन गर्न सकिन्छ । परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन ।

राजनीतिक दलहरुले विगतको सशस्त्र द्वन्दको घाउलाई सम्बोधन गर्ने शान्ति प्रकृयालाई निकै लामो समयसम्म टुङ्गोमा पुर्‍याउन सकेन भन्ने आरोप छ नि ?
हामीले यति ठूलो राजनीतिक परिवर्तन गरेका छौँ । शान्ति प्रकृयाका बाँकी काम लगभग टुङ्गोमा पुर्‍याएका छौँ । सेना समायोजन गरेर एउटा ठूलो सफलता प्राप्त गरेका छौँ । त्यही प्रकृयाको सन्दर्भमा यति राम्रो संविधान बनाउन सफल भएका हौँ । अब शान्ति प्रकृयासँग सम्बन्धित थोरै काम मात्रै बाँकी छ । जुन अब दुईरतीन वर्षभित्र सम्पन्न गर्ने गरी हामी काम अघि बढाइरहेका छौँ । यो शान्ति प्रकृयासँग सम्वन्धित जे काम गरिएको छ, विश्वकै शान्ति प्रकृयाका उदाहरणीय छ । म भरखरै कोलम्बिया पुगेर आएँ, त्यहाँको समेत अनुभव हेर्दा दाबीका साथ भन्न सकिन्छ कि नेपालको शान्ति प्रकृयाको जुन प्रसङ्ग छ, त्यो हाम्रो मोडेल हो, विश्वमै उत्कृष्ट छ ।

मुलुकका प्रमुख राजनीतिक शक्तिले समयमै पूरा गर्न पर्ने समाजका जल्दाबल्दा विषयमा पनि त्यति ध्यान पुर्‍याएनन् भन्ने आरोप छ नि ?
हो, जनताको चाहना र भावना अनुरुप कतिपय महत्वपूर्ण काम भने अझै पनि गर्न सकेका छैनौँ । त्यसतर्फ केही कमी कमजोरी रहेकै हुन् । देशमा ठूलो राजनीतिक परिवर्तनका साथ केही महत्वपूर्ण उपलब्धि हासिल भएकोछ । तर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भने कमी कमजोरी रहन गए । गणतन्त्र दिवसका अवसरमा म प्रष्ट र ढुक्कसँग भन्न सक्छु कि समाजमा विद्यमान त्यस्ता कमी कमजोरीलाई सच्चाएर अब हामी अघि बढनुपर्छ ।


देश गणतन्त्रको अभ्यासमा छ, देशको आर्थिक सङ्कटसँग जोडेर सङ्घीयता खर्चिलो भयो भन्ने पाटोबाट कुरा उठाइएको छ, यसमा यहाँको धारणा के ?
हामीले स्थापना गरेको लोकतन्त्र भनेको समाजमा व्यक्ति भएका सबैखाले विचार सन्न सक्ने सुन्दर पक्ष हो । समाजमा आउने सबै विचारका बारेमा छलफल हुन्छ । छलफल हुनु राम्रो कुरा हो । विगतमा हामी कुन व्यवस्थाबाट गुज्रदै यहाँ आइपुगियो भन्ने हामीलाई राम्ररी थाहा छ । समाजमा विकृति र विसङ्गति छन्, त्यसलाई सच्याऔँ, सुधारौँ भन्दा सुरक्षा कानुन भोग्नु परेका हामी धेरै ज्यूँदैछौँ । प्रधानमन्त्री भारतमा जाँदा त्यहा बोलेका कुराका लागि काठमाडौमा पर्चा छर्दा राजकाज मुद्धा लागेर सात महिना कैद सजाय भोग्ने मानिस मै हुँ । अहिले हामीले त्यो प्रणाली परिवर्तन गरियो । पूर्ण लोकतन्त्रको आधार तयार गरिएको छ । अहिले यस्तो हुनुपर्छ भनेर आएको विषयलाई अचम्म मान्न हुन्न । त्यो छलफल र आएका विचार स्वस्थ्य र स्वच्छ भने हुनुपर्छ । त्यसले एउटा निष्कर्षमा पुर्‍याउँछ । सविधान बनाउने क्रममा सबैभन्दा बढी सङ्घीयताको विषयमा छलफल भएको हो । सङ्घीयता निर्विवाद होइन । व्यापक छलफलपछि टुङ्गोमा पुगिएको हो । त्यसैले छलफल हुनुलाई अन्यथा मान्न हुन्न । छलफल चल्छ । एउटा लोकतान्त्रिक विधि र प्रकृयाबाट टुङ्गोमा पुग्न पर्छ ।

१६ औँ गणतन्त्र दिवस मनाइरहँदा पश्चिम नेपालमा अभिनन्दनको घटनालाई कसरी हेर्नुभएको छ ?
एकदमै सामान्य टिप्पणी गर्न नपर्ने विषयका रुपमा लिन्छु । पूर्वराजालाई एउटा नागरिकको हैसियतले सम्मान नै गर्छु । अन्यथा टिप्पणी छैन । उहाँले बोल्न सक्नुहुन्छ । शान्तिपूर्ण ढङ्गले हिड्न सक्नुहुन्छ । संविधानबमोजिमका क्रियाकलाप त लोकतन्त्रको सुन्दर पक्ष नै हो । हामी निरङ्कुश परिस्थितिबाट अहिले फरक ठाँउमा आइसकेका छौँ । अहिले शान्तिपूर्ण ढङ्गले गणतन्त्र चाहिन्न पनि भन्न पाइन्छ । तर हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ । कार्यान्वयन गर्दै यहाँ आइपुगेका छौँ । कार्यान्वयन गर्ने सन्दर्भमा पटकपटक निर्वाचनमा गएका छौँ । सबैखाले विचार बोकेका दल निर्वाचनमा गएका र प्राप्त परिणामलाई स्वभाविक रुपले लिइएको छ ।

गणतन्त्र दिवसका अवसरमा आम जनसमुदायलाई यहाँको केही सुझाव वा सन्देश छ कि ?
वर्तमान संविधानको आधारमा सार्वभौम सम्पन्न जनतालाई ध्यानमा राखेर हामीले अघि बढनुपर्छ । पुराना दलप्रति विभिन्न प्रश्न उठेका छन् । अहिलेको अवसर हाम्रा लागि अवसर हो । उठेका विषयलाई हामीले हेर्नुपर्छ, गम्भीरतापूर्वक लिनुपर्छ । गरिएका राम्रा विषय जनतामा लैजानुपर्छ । देखिएका कमी कमजोरीलाई हार्दिकतापूर्वक स्वीकार्न पर्छ । त्यसलाई सच्याउँदै अघि बढने प्रतिबद्धता व्यक्त गरेर व्यवहारमा उतार्दै अघि बढनुपर्छ । लोकतन्त्रमा यो हाम्रा लागि अवसर हो । अवसरलाई सदुपयोग गरियो, कमी कमजोरीलाई समयमै सच्याएमा अघि बढने प्रशस्त आधार हुन्छ । लोकतन्त्रमा व्यक्ति र दल परिवर्तन गर्न सकिन्छ । यो हामी र सवैका लागि राम्रो अवसर हो ।