आर्थिक

प्रिमियममा सार्वजनिक शेयर निष्कासन गर्ने आई. एम. ई. लाइफ इन्स्योरेन्स बन्यो पहिलो बिमा कम्पनी

२५ जेठ, काठमाडौँ । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बिमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगै प्रति कित्ता रु २३६.९१ मा कम्पनीले आफ्नो जारी पुँजीको ३०% ले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । नेपाल धितो पत्र बोर्डको वेबसाइटमा विवरण पत्र प्रकाशनको लागी स्वीकृति भएको उल्लेख गरिएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले रु.२ अर्ब ८९ करोड ४ लाख खुद बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ सञ्चिति रहेको छ । यसै गरी जीवन बिमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा रु. १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु. ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्धित विभिन्न कम्पनीहरू मध्ये आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । दक्ष तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालित यस आई.एम.ई.लाइफ इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । आर्थिक बिकासमा बिमा क्षेत्रबाट अर्थपूर्ण सहभागिता जनाउनु यस कम्पनीको उद्देश्य रहेको छ ।