समाचार

इन्धनको भाउ घटाएसँगै हवाई भाडा पनि घट्यो

६ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा रु ९० ले घटेको छ ।

यसैगरी काठमाडौँ–भद्रपुरको रु तीन सय, काठमाडौँ–विराटनगरको रु दुई सय ४०, काठमाडौँ–धनगढीको रु चार सय ४५, काठमाडौँ–नेपालगञ्जको रु तीन सय २५, काठमाडौँ–भैरहवाको रु दुई सय १० र काठमाडौँ–सुर्खेतको भाडा रु तीन सय ४५ ले घटेको छ । मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर रु १० ले कम गरेको थियो ।