राजनीति

परिबर्तनले जनतालाई राहत दिन सकेन, उल्टो संकटको चक्रब्युहमा फस्योः कमल थापा

७ असार, काठमडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिबर्तनले जनतालाई राहत दिन नसकेको उल्टो संकटको चक्रब्युहमा फसेको बताएका छन् । आज पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले बिगतका त्रुटि कमजोरी सच्याउदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको समेत बताए ।

१७ बर्ष देखि राजनितीक बर्चश्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा बेथिति, बिसङ्गती, कुशासन र ब्रम्हलुट मच्चाएको भन्दै थापाले मुलुकको स्वाधिनता कमजोर बनाउने, अर्थतन्त्र धराशायी पार्ने, बेरोजगारी र भ्रस्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिबर्तनको डढेलो लगाउनेहरुले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे ।

धर्म, संस्कृती र परम्परा नष्ट नगरी समेत मुलुकलाई बलियो बनाउन सकिन्छ भन्ने चेत शासकहरुसङ्ग नहुनु बिडम्बना भएको उनको तर्क छ । शक्ति,स्वार्थ र अबसरको बाटो सजिलो हुने तर निष्ठा, आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाका बाटो हिड्नेहरु गन्तब्यमा पुग्ने बताए ।

जनतालाई केन्द्रमा राखेर राप्रपा नेपाल सडक केन्द्रित हुने समेत स्पष्ट पारे । कार्यक्रममा पार्टीका उपाध्यक्ष जयकुमार खड्का, महामन्त्री राजाराम बर्तौला , नर थापा, डम्बर शिवाकोटी ,राजकुमार खड्का, श्याम घिमिरे, दिनेश नापित लगायतले बोलेका थिए ।