१५ असार, काठमाडौँ । आचार्य बन्धु समाज नेपालले आज काठमाडौँमा असार १५ धान दिवसको अवसरमा दही–चिउरा कार्यक्रम सम्पन्न गरेको छ ।
मध्य बानेश्वरस्थीत कृष्णभोग पार्टी प्यालेसमा आयोजना भएको दही चिउरा कार्यक्रममा विभिन्न लब्धप्रतिष्ठ आचार्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व मन्त्री नीलाम्बर आचार्य, उद्योगपति एवम् समाजका पूर्व अध्यक्ष कृष्ण आचार्य, वरिष्ठ पत्रकारहरू हरिहर विरही, डा सुरेश आचार्य, राजनीतिज्ञ मधु आचार्य, ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष पुष्कर आचार्य, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, प्रा डा गोविन्द आचार्य, प्रा डा व्रतराज आचार्य, आचार्य समाजका पूर्व उपाध्यक्ष सुरेश आचार्य, आचार्य समाजका बाग्मती संयोजक जयराज आचार्य, आचार्य समाज बाग्मती प्रदेश कोषाध्यक्ष दुर्गा आचार्य थपलियालगायतले आचार्य समाजले गरेको कार्यक्रममा आफ्नो मन्तव्यका साथ समाजको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नीलाम्बर आचार्यले आचार्यहरूले राम्रो काम गरेर देखाउन सकोस् भन्दै शुभेच्छा प्रकट गरेका थिए । यस्तै व्रतराज आचार्यले आचार्यहरूले आफ्नो छुट्टै छाड बनाउन सके राम्रो हुने सुझाव दिएका थिए । समाजका पूर्व अध्यक्ष कृष्ण आचार्यले देशभर रहेका आचार्यहरूलाई जोडेर एउटै समाज बनाउन अपरिहार्य रहेको भन्दै इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानमार्फत आचार्य समाजको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत वार्षिक रु दुई लाख राशिको राष्ट्रिय पुरस्कारका लागि व्यवस्था गरेर आचार्य समाजले महत्त्वपूर्ण योगदान गरेको बताए ।

पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले आचार्य बन्धु समाज नेपालका कार्यक्रमहरू हेर्दा आचार्य समाजको औचित्य पुष्टि भएको भन्दै समाजका सदस्यहरूले राम्रो काम गरेको भन्दै शुभेच्छा गरेका थिए ।

समाजको कार्यक्रममा नेपाल सरकारका सहसचिव दिवस रमण आचार्य, नायव महालेखापरीक्षक पदम प्रसाद आचार्य, महालेखापरीक्षकको कार्यालयका निर्देशक भूमि आचार्य, पूर्व सहसचिव भुवन प्रसाद आचार्य, पूर्व सहसचिव केशव प्रसाद आचार्य, नेपाल राष्ट्र बैङ्कका निर्देशक डा भागवत आचार्य, नेपाल आयाल निगमकी बरिष्ठ कर्मचारी उर्मिला पोख्रेल आचार्यलगायत विभिन्न कौडिन्य गोत्रीय बन्धु-बान्धवहरुको ठुलो समूहमा उपस्थिति थियो ।

समाजका अध्यक्ष बाबुराम आचार्यले समाजका लागि आचार्य समाज राजनीति गर्ने थलो नभएको, आर्थिक पारदर्शिता तथा अनुशासनका साथ काम गर्दै समाजलाई अगाडी बढाउनुपर्ने दायित्व रहेको भन्दै यसका लागि सल्लाहकारहरू, संरक्षकहरू, आजीवन सदस्यहरू, विशिष्ट सदस्यहरू, साधारण सदस्यहरू, शुभचिन्तकहरूलगायत देश विदेशमा रहेका बन्धु-बान्धवहरुकाे रचनात्मक सल्लाह, सुझाव, खबरदारीका साथसाथै सहकार्यको अपेक्षा रहेको बताएका थिए । समाजका अध्यक्ष आचार्यले आचार्य सेवा सदन निर्माण गर्ने, एकीकृत वंशावली निर्माण गर्ने, देश भरी विभिन्न तरिकाले काम गरिरहेका आचार्य समाजलाई एकीकृत गर्ने जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू ल्याएर समाज अगाडी बढिरहेको जानकारी गराएका थिए ।

समाजका महासचिव शुभनराज आचार्यले सञ्चालन गरेको दही चिउरा तथा संवाद कार्यक्रममा अध्यक्ष बाबुराम आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । महासचिव शुभनराज आचार्यले आगामी हरितालिका तीज पर्वको उपलक्षमा आचार्य महिलाका लागि तीज विशेष कार्यक्रम गरिने जानकारी दिएका थिए ।

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट टेकनाथ आचार्य, इन्जिनियर वेदनाथ आचार्य, समाजका अध्यक्ष बाबुराम आचार्यले प्रति व्यक्ति रु एक लाख समाजलाई तिरेर समाजको संरक्षक सदस्यता लिएका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण आचार्य बन्धु-बान्धवहरुबीचमा परिचय कार्यक्रम सम्पन्न भएको थियो ।
