समाचार

सहिदका नाममा खोलिएका शिक्षालयप्रति पूर्वाग्रही हुन नहुने

१७ असार, तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताएका छन् ।

दाङको घोराहीस्थित सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयको आज अवलोकन गर्दै उनले सहिदका नाममा खोलिएका यस्ता शिक्षालयलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए। मन्त्री मास्कीले सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयलाई अहिले प्रदेश सरकारले रु २० लाख उपलब्ध गराएको र आगामी दिनमा पनि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

सहिदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरी १२ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ । त्यसक्रममा शिक्षालय प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आवश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटका लागि बजेट आवश्यक रहेको बताए।

कृष्णसेनका नामबाट खोलिएको यो शिक्षालय नमुना शिक्षालय रहेको सहायक प्रमुख केशरमान विसीले बताए। उनका अनुसार विसं २०७५ देखि उक्त शिक्षालय सञ्चालनमा आएको हो । हाल सो शिक्षालयमा विभिन्न विषयमा तीन सय आठ विद्यार्थीले अध्यापन गरिरहेका छन् । हाल वन विज्ञान, फुड एण्ड डेरीलगायतका विषय अध्यापन भइरहेका छन् ।