२२ असार, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएका छन् ।
कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भने, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।”
डा. राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना र विसं २०६२/६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरे ।





