खेलकुद

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : खेलकुदमन्त्री

२६ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको आज यहाँ विमोचन गर्दै उनले सरकार र निजी क्षेत्र नमिलीकन नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताए ।

“निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको छ, सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ”, मन्त्री लिम्बूले भने । उनले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए । इमान्दार प्रयासका साथ आफू नेपालको खेल क्षेत्रको विकासमा लागेको उनको भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गरेको भन्दै अहिलेको लगानीले खेलकुद क्षेत्रको विकास हुन नसक्ने बताए ।