राजनीति

पुष्पकमल दाहालले एमालेको रकम खाए पिए, सबै गरे : ओली

१२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको रकम लिएको, रकममा चले, खाए, पिए, सबै गरेको आरोप लगाएका छन् ।

जनसंगठन संमन्वय संयत्रको बैठकमा अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा अध्यक्ष दाहाल चलेको आरोप लगाए ।

उनले अघि भने, “हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे । आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रुकम खाए, पिए, सबै गरे ।”

त्यस्तै, अध्यक्ष ओलीले माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् । पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर दाहालले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।