राजनीति

सरकारले संसद्लाई ‘बिजनेस’ दिन सकेन : सभापति लामिछाने

१३ साउन, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे ।

सभापति लामिछानेले भने, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए ।

सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे । “गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ”, उनले भने । पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताए ।