राजनीति

कांग्रेसले जनताको समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्छः नेता पौडेल

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले जनताको समस्यालाई आफ्नो ‘मुद्दा’ बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको ‘महानगर सम्मेलन’मा उनले कांग्रेसले जनताका जल्दाबल्दा समस्यालाई आफ्नो मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

“कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे आगामी निर्वाचनमा कांग्रेस सशक्त पार्टीका रूपमा स्थापित हुनसक्छ”, उनले भने । नेता पौडेलले नेपाली राजनीतिको विश्वविद्यालय कांग्रेस पार्टी भएकाले कांग्रेसबाट अरु पार्टीले समेत पाठ सिक्नुपर्ने बताए ।

उनले स्वतन्त्रताको पक्षधर पार्टी कांग्रेस भएकाले कांग्रेसले स्वतन्त्रतालाई बन्देज गर्न नमिल्ने धारणा राखे । “मुलुकको विकासको नेतृत्व गरेको पार्टी कांग्रेसले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएको छ, जनताको समस्या समाधान गर्ने पार्टी कांग्रेस हो”, उनले भने ।

उनले कांग्रेस जनताको पार्टी हो भन्ने सन्देश दिन सके आगामी निर्वाचन सजिलै जित्न सक्ने बताए। सरकारमा बस्दा जनताको समस्या समाधान गर्न सकेनौँ भने आगामी निर्वाचन जित्न कांग्रेसलाई गाह्रो हुने उनको भनाइ थियो ।