राजनीति

राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल

१४ साउन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका छन् ।

समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उनले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताए ।

विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका उनले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको बताए । उनले मोर्चामा आबद्ध हुन देशभक्त, वामपन्थी र समाजवादी विचारधारा अँगालेका शक्ति र पार्टीलाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार, अत्याचार, असमानताका विरुद्ध एकताबद्ध भएर जुध्नुपर्ने उल्लेख गर्दै समाजवाद न्याय, समानता र सबै जनताको समृद्धिको अभियान भएको बताए । उनले शिक्षा क्षेत्रमा पनि दलाल पूँजीवादको दबदबा रहेकाले त्यसका विरुद्ध सशक्त प्रतिवाद गर्दै अगाडि बढ्नुपर्ने बताए ।