राजनीति

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री

१५ साउन, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याउने बताएका छन् । प्रधानमन्त्री दाहालले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुनप्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पु¥याउन सरकार दृढ रहेको स्पष्ट पारे। यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पु¥याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे। मुलुक विकासको बाधकका रुपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पु¥याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताउनुभएको नेकपा (माओवादी केन्द्र)का सचिव दिनानाथ शर्माले जानकारी दिए।

बैठकमा पार्टीका उपमहासचिव बर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् । उनले सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारवाही गर्नुपर्ने बताए।

सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उनको भनाइ छ । उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितता विरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिएका थिए ।

यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ । सोही क्रममा आज पनि बैठक बसेको हो ।

केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम् सांगठनिक प्रतिवेदन पेश गर्नेछन्। सो विषयमा समेत आजको बैठकमा छलफल भएको थियो । यस्तै आगामी मंसिरमा विधान सम्मेलनको आयोजना गरी पार्टीको सांगठनिक संरचनालाई चुस्त दुरुस्त बनाउने समेत तयारी गरिएको छ ।

बैठक प्रत्यक्ष प्रसारण हुन्छ

नेकपा (माओवादी केन्द्र)का सचिव शर्माका अनुसार केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने बताए। उनले आम सर्वसाधरण, पार्टी कार्यकर्ता र देशबासीलाई समेत प्रत्यक्ष जानकारी दिने उद्देश्यले बैठकको सबै कारबाही प्रत्यक्ष प्रसारण गर्न लागिएको जानकारी दिए। यसअघि समूहगत रुपमा गरिँदै आएको छलफल नगरी सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने गरी कार्यक्रम तय भएको उनको भनाइ छ ।

यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेपछि राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेसको उक्त निर्णयको प्रशंसा गर्दैै कम्युनिष्ट पार्टीको बैठक पनि प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका थिए ।