१७ साउन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीका केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वडामै पुग्ने बताएका छन् ।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै पुनले सरकारबाट भएका केही कामहरू देखाएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन जनतामाझ पुग्न लागेको बताए ।
उनले अघि भने, “अहिले जनताहरू निराश छन्। स्थापित दलहरूबाट हुँदैन । कसैले पनि गर्दैन, सबै उस्तै हुन् कि भन्ने खालको बनेको छ । सरकारले, नेतृत्वले केही काम गर्छ भन्ने संकेत देखिएका छन् । सकिन्छ, सम्भव छ, दलहरू सच्चिएर, परीक्षणमा बस्न तयार छ, माओवादी केन्द्र तयार छ भन्ने सन्देश लिएर, जनताका आलोचना र सुझावहरू सुन्छौं।”
उपमहासचिव पुनले सरकारले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन, ललिता निवास प्रकरण, सुन तस्करीका घटनालाई छानबिन गर्ने र नियन्त्रण गर्ने, समयमै पाठ्यपुस्तक पुर्याउने, मल पुर्याउने, मिटरब्याजसम्बन्धी कानुन बनाउनेलगायत महत्वपूर्ण काम गरेको बताए ।





