खेलकुद

एशिया रग्वी प्रतियोगिता भाद्र पहिलो साता हुने

१७ साउन, काठमाडौँ । एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा एशिया रग्वी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाण्डौमा आयोजना हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएका छन् । यस्तै महिला तर्फ नेपाल, थाईल्याण्ड र मलेसियाको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ । लिगमा पहिलो र दोश्रो हुने टिमका विच उपाधीका लागि प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको बिजयी टिमले एशिया रग्वीको ट्रफी प्राप्त गर्नेछन् । प्रत्यक्ष प्रसार हुने प्रतियोगितालाई एशिया रग्वी संग अनुवन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलङकन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिईरहेको पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।

यसै क्रममा नेपाल रग्वी संघ र गोक्योविच एक आपसमा सहयोग गर्ने गरि सम्झौता भएको छ । जसमा गोक्योले रग्वी खेलाडीहरुका लागि खेल पोशाक, ट्रायक सुट र खेल सामाग्री उपलब्ध गराउने छ । नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरि संघले भक्तपुर ईन्टरनेशनल हस्पिटल संग पनि सम्झौता गरेको छ । संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजी कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग
खेलाडीहरुका लागि आपतविपतमा सहयोग गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले उपचाररत विभिन्न ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे ।

उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई २ लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् । यस्तै शारिरीक अस्वस्थताका कारण ट्रमा सेन्टर बिर अस्पतालमा उपचाररत चन्दन शाहीलाई १ लाखको चेक हस्तान्तरण गरियो । यसैगरि स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई १ लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।

बाग्मती प्रदेशमा ओलम्पियन संघको स्कूल टु ओलम्कि कार्यक्रम

नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा ओलम्पिकका ४ पटक सहभागी कीर्तिमानी बैकुण्ठ मानन्धर, दीपक बिष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजालको सहभागिता थियो । त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ्ग पनि वृक्षारोपणमा सहभागी थिए ।

त्यसपछि आयोजित अन्तक्र्रियामा ओलम्पियनहरुले झण्डै ४ सयको संख्यामा रहेका विद्यार्थीसँग अनुभव साट्दै उनीहरुको जिज्ञासा शान्त पार्ने प्रयास गरेका थिए । नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिकको महत्व र ओलम्पिक चार्टर तथा नेपालमा ओलम्पिक अभियान बारे प्रकाश पारेका थिए ।