१७ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै संसद बैठक चलाउन नमानेको बताएका छन् । अध्यक्ष ओलीले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको दाबी गरे ।
बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “उहाँहरुले संसदमा आवाज उठछ भनेर अस्तिका दिन संसद चल्न दिनुभएन । हामीले संसद चलाऔं भनेका छौं, सांसदहरु बोल्नुहुन्छ, आवाजहरु उठाउनुहुन्छ, जनताको भनाइ भन्नुहुन्छ ।”
उनले सांसदले बोल्न पाउनुपर्ने भन्दै अघि भने, “सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस् भनेर ।”
ओलीले मंगलबार पनि सत्तापक्षले सांसदहरुलाई बोल्न नदिने, सिधै गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने प्रस्ताव गरेपछि आफूहरुले नमानेको बताए । सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको उनले बताए । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।





