अन्तर्राष्ट्रिय

सदनको गरिमाअनुसार ‘व्यवहार गर्न’ सांसदहरूलाई भारतीय सभामुखको आग्रह

१७ साउन, एजेन्सी । लोकसभाको मनसुनी सत्र सुरु भएदेखि नै सभामुख ओम बिडलाले सदनको अध्यक्षता नगर्ने बताएका छन् ।

स्रोतका अनुसार सभामुख बिडलाले सदनको कामकाजलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुवैसँग गहिरो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले दुवै पक्षलाई सांसदहरूले सदनको गरिमाअनुसार व्यवहार नगरेसम्म आफू लोकसभामा नआउने बताएका थिए ।

उनले भने, “जबसम्म संसद सदस्यहरूले सदनको गरिमाअनुसार व्यवहार गर्दैनन्, संसदको अध्यक्षता गर्नुको औचित्य हुँदैन ।”

आज पनि सदनको कार्यवाही सुरु हुँदा बिडला सभामुखको आसनमा आएका थिएन ।

यसैबीच, लोकसभामा बुधबार पनि होहल्ला जारी रह्यो जसका कारण बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सांसदहरूले मणिपुरको हिंसालाई लिएर संसदमा होहल्ला गरेका थिए ।

यसैबीच, दुई दिने भ्रमणका लागि मणिपुर गएका विपक्षी सांसदहरूको २१ सदस्यीय प्रतिनिधिमण्डलसहित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन ‘इन्डिया’ का कूल ३१ सदस्यले आज राष्ट्रपति मुर्मूसँग भेट गरेका छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलले जुलाई २८ र २९ मा दुई दिन मणिपुरको भ्रमण गरेको थियो ।