खेलकुद

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्यास लिएका छन् । आज पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए । पूर्वकप्तान मल्ल सन् २००५ देखि उमेर समुहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए ।

यू-१५ टोलीबाट खेल्न थालेका मल्लले २००५ मा नै यू-१७, यू-१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । त्यस्तै, उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका उनले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले ।