राजनीति

एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध, साउन २४ गते बस्नेगरी स्थगित

२२ साउन, काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् ।

राष्ट्रिय सभा बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । बैठकमा बोल्दै रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताइन् ।

एमालेले बैठक अवरुद्ध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।