राजनीति

सत्तारुढ र एमालेबीच संसदीय समितिको भागबण्डा टुंगो, रास्वपा र राप्रपाले पाएनन्

२२ साउन, काठमाडौं । सत्तारुढ र प्रमुख विपक्षी दलबीच संसदीय समितिको भागबण्डा टुंगो लागेको छ । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समितिको भागबण्डा टुंगो लगाएका हुन् ।

आजै सोमबार बस्ने शीर्ष नेताहरुले त्यसलाई अन्तिम रुप दिनेछन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको सहमतिबारे जानकारी गराएका थिए ।

जसअनुसार नेपाली कांग्रेसले ४ वटा समिति सभापति, एमालेले ३ र माओवादी केन्द्रले २ तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एकएक समितिको सभापति पाउनेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई भने समिति सभापति छैन । लेखा समिति, महिला समिति र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने छ ।

तयस्तै, अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति नेपाली कांग्रेसले पाउने सहमति छ । कानुन र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छन् ।