राजनीति

जिल्ला अध्यक्ष हटाइएकामा आपत्ति

२२ साउन, काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले विधानविपरीत १२ जिल्लाका अध्यक्ष हटाएको भन्दै आपत्ति जनाइएको छ । सङ्घको केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान अध्यक्षले विधान विपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई वर्खास्त गरेको भन्दै विरोध जनाएको हो ।

पत्रकार सम्मेलनमा सङ्घकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रीता शाहीले सङ्घको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताए । “पार्टीलाई एकढिक्का बनाएर सङ्गठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको बेलामा यस्तो गतिविधि राम्रो होइन,” उनले भने ।

महिला सङ्घको वर्तमान अध्यक्ष उषा राउत मिश्रले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बाराका अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहाका अध्यक्ष बिमला निरौला, ताप्लेजुङका अध्यक्ष मीना गुरुङ, इलामका अध्यक्ष निर्मला सन्जेल, महोत्तरीका अध्यक्ष बिना तिवारी, रौतहटका अध्यक्ष भुवनी गिरी, कास्कीका अध्यक्ष कोपिला रानाभाट, झापाका अध्यक्ष सुशीला ढकाल र हुम्लाका अध्यक्ष विजया बुढालाई हटाएका थिए ।

महिला सङ्घकी केन्द्रीय सदस्य डा अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनःबहाली गर्न माग गरे । केन्द्रीय सदस्य छायाँ सुनारले महिला सङ्घको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढङ्गले आफ्नो गतिविधि अगाडि बढाएको आरोप लगाए । महिला सङ्घले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्नसमेत माग गरेको छ ।