२७ भदौ, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षामन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको हो ।
हाल प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उतीर्ण भए पुग्ने व्यवस्था छ । हाल प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन तहको शिक्षकको व्यवस्था गरे पनि विधेयकमा दुई तहका शिक्षक मात्र प्रस्ताव गरिएको छ । अब आधारभूत र माध्यमिक गरी दुई तहका शिक्षक रहनेछन् ।
त्यस्तै, विधेयकमा आधारभूत तहको शिक्षकको परीक्षामा सहभागी हुन स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था पनि गरिएको छ । आधारभूत तहको शिक्षक पनि दुई किसिममा बर्गीकरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकलाई साधारण र कक्षा ६ देखि ८ सम्म अध्यापन गर्ने शिक्षकलाई विषयगत शिक्षक भनिएको छ ।
विधेयकमा पहिलो पटक शिक्षकको परीक्षामा आन्तरिक प्रतियोगिताको व्यवस्था पनि गरिएको छ । आधारभूत तहको तृतीय श्रेणीको पदमा शत प्रतिशत नै खुला प्रतियोगिताबाट पदपूर्ति हुनेछ । माध्यमिक तहको तृतीय श्रेणीमा भने ७० प्रतिशत खुला प्रतियोगिताबाट र ३० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ । माध्यमिक द्वितीय श्रेणीको पदमा पनि २० प्रतिशत सिटमा खुला प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ ।