राजनीति

तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व : अध्यक्ष लिङ्देन

२९ भदौ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन मेचीनगरले आज धुलाबारीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा उनले तीज, दसैँ लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताए ।

“तीज र दसैँ जस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ”, उनले भने, “यी चाडपर्व सदियौँदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन् । पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ ।”

संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै उनले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराए । दसैँमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको उनको धारणा थियो ।

राप्रपा अध्यक्ष लिङ्देनले राजनीतिक प्रसङ्गमा बोल्दै राप्रपालाई नवीन सोच र शैलीका साथ मुलुकको अग्रणी शक्तिका रूपमा स्थापित गरिने बताए । उनले ठूला राजनीतिक दलले पुरानो व्यवस्था र राजसंस्थालाई गाली गरेर सत्ता सञ्चालन गरिरहेको र जनताले आर्थिक परिवर्तनको अनुभूति गर्न नपाएको जिकिर गरे ।

कार्यक्रममा कोेशी प्रदेशसभा सदस्य सविना बजगाईं, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सङ्गठनकी जिल्ला अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।