पत्रपत्रिका

कित्ताकाट खुलेपछि १० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

३ असाेज, काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो ।

नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ । बैंकहरूले घरजग्गा कर्जामा कडाइ गरेपछि निर्माण व्यापारसमेत शिथिल रहेकामा अब भने घर निर्माण बढ्न गई समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न थालिएको छ ।

भू–उपयोग नियमावली गत ३० साउनमा मन्त्रिपरिषद्ले पारित गरेसँगै कित्ताकाट नहुने समस्यामा कमी आएको, अंशबन्डा गर्दा न्यूनतम् यति जग्गा हुनैपर्छ भन्ने समस्या नभएको र मोही बाँडफाँटको पनि कित्ताकाट नरोकिएको हुँदा कित्ताकाट बढेर सरकारले राजस्वसमेत बढाएको छ ।

गत वर्षको २३ मंसिरदेखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेपछि रोकिएको घरजग्गा कारोबार गत भदौबाट चलायमान हुन थालेको हो । राजधानी दैनिकमा समाचार छ ।