स्वास्थ्य

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

५ असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापनसम्बन्धी पाठ्यक्रममाथिको छलफल’का क्रममा उनले उक्त ऐनमा भएका नराम्रा पक्षलाई सुधार गरेर जानुपर्ने बताएका छन् ।

“चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुरालाई लिएर अगाडि बढौँ, कमीकमजोरी हटाएर राम्रो सुरुआत गरौँ”, उनले भने, “स्वास्थ्यकर्मी देशमै उत्पादन गरौँ, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो पनि भन्ने तर भएभरको पैसा र युवायुवती विदेशिने अवस्था आएको छ ”

निश्चित व्यक्तिको उद्देश्य पूर्तिका लागि राज्य कमजोर हुन नहुने उनको भनाइ छ । ऐन संशोधनका बारेमा प्रधानमन्त्रीसहित सिङ्गो मन्त्रिपरिषद् सहमत भएको उल्लेख गर्दै उनले स्वास्थ्य र स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधि राखेर ऐनमा सुधार गर्नुपर्ने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए ।

स्वास्थ्य र शिक्षालाई जनताको आधारभूत आवश्यकता मात्र नभई मौलिक हकसँग जोडिएको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सरकार क्रियाशील रहेको बताए ।

“गरिब, विपन्न, वृद्ध, बालक, निमुखालाई कसरी आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सकिन्छ भनेर स¬ङ्घीय अस्पतालमा तीन हजार ५२३ शय्या निःशुल्क गरिएको छ”, उनले भने, “बागमती र मधेस प्रदेशले त्यहाँका जनतालाई सेवा दिन प्रादेशिक अस्पतालमा सामान्य शय्या निःशुल्क गरेको छ । विस्तारै सबै प्रदेशमा यो अभियान अगाडि बढाउँदै छौँ ।”

मन्त्री बस्नेतले सबै खाले अस्पतालमा १० प्रतिशत शय्या उपचारसहित निःशुल्क गर्ने विषयलाई कार्यान्वयनमा लगिएको छ । दरबन्दी कम हुँदा स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको स्वीकार गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउन प्रधानमन्त्री र अर्थमन्त्री सकारात्मक पाएको बताए ।