अन्तर्राष्ट्रिय

दाहोरो झडपमा २५ जनाको मृत्यु

९ असोज, एजेन्सी । सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको युद्ध पर्यवेक्षक एक संस्थाले मङ्गलबार बताएको छ ।

वासिङ्टनको समर्थन पाएको कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सोमबार सुरु भएको झडपमा देइर एजोर प्रान्तको धेबान क्षेत्रमा घुसपैठ गरेका बन्दुकधारीहरूलाई परास्त गरेको बताएको छ ।

यसै महिनाको प्रारम्भमा सोही क्षेत्रमा एसडीएफ र सशस्त्र अरब जनजातिबीच १० दिन झडप भएको थियो । उक्त झडपमा ९० जनाले ज्यान गुमाएका थिए ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरिया सरकार समर्थक लडाकुहरूले युफ्रेटिस नदी पार गर्दा पछिल्लो झडप भएको बताएको छ । झडपमा २१ जना दमास्कसका वफादार र तीन जना एसडीएफ लडाकुले ज्यान गुमाएका उक्त संस्थाले बताएको छ ।