स्वास्थ्य

स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छु : स्वास्थ्यमन्त्री बस्नेत

१० असोज, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने बताएका छन् । उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए ।

उनले भने, “नेपालका चिकित्सकसँग पढ्न विदेशी चिकित्सक आउने । नेपालका नेताहरु उपचारका लागि विदेशिने ?” अहिले सरकारले विशिष्ट व्यक्तिको उपचारका लागि विदेश पठाउने नीति बन्द गरेको बताउँदै उनले भने, “स्वास्थ्य क्षेत्रको बेथिति नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको छ ।” स्वास्थ्य क्षेत्रमा जनताको आक्रोश रहेकाले सबै मिलेर यसलाई सुधार गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।

उपचारको अभावमा कोही नेपाली मर्नु नपर्ने गरी सरकारले काम गरेको उनले बताए । मन्त्री बस्नेतले उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको बताए । शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उनले संविधानमा लेखिएको कुरा निःशुल्क गर्दै जाने बताए ।

उनले भने, “विद्यार्थीले शुल्क तिर्न नसकेर आत्महत्या गर्नुपर्ने र बिरामीले उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम फाल्नुपर्ने अवस्था अन्त्य गर्न सरकार लागेको छ ।” गरिब विपन्नले औषधि उपचार नपाएर मर्नुपर्ने बाध्यता नहुने उनको भनाइ थियो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने उनको भनाइ थियो । उनले भने, “तपाईंहरु अस्पताललाई उत्कृष्ट बनाउनुस् । विस्तारको काममा सरकारले सहयोग गर्छ ।” बजेट अभाव भयो भनेर पछि हट्ने काम गर्न नहुने उनको भनाइ थियो । सरकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने भन्दै उनले अहिले गाउँगाउँमा चिकित्सक पु¥याउने अभियान चलाइएको जानकारी दिए ।