स्वास्थ्य

चिकित्सकमाथि भएको कुटपिट विरोधमा डाक्टरहरु सडकमा

११ असोज, काठमाडौं । चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी गरेका छन् । अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहरुले कार्यस्थलमा सुरक्षाको माग गर्दै नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

चिकित्सकहरुको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो । त्यसक्रममा चिकित्सकहरुले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएका थिए ।