अन्तर्राष्ट्रिय

तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, एकको मृत्यु, दर्जनौँ घाइते

११ असोज, एजेन्सी । उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“विष्फोटमा परी १७ बर्षीय एक किशोरको मृत्यु भएको छ,” उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको छ । मन्त्रालयका अनुसार उक्त घटनामा थप १६२ जना घाइते भएका छन् ।

आपतकालीन व्यवस्था मन्त्रालयले शक्तिशाली चट्याङका कारण विमानस्थल क्षेत्रको गोदाममा ‘आगो लागेपछि विस्फोट भएको’ जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये १३८ जना सामान्य घाइते भएका छन् भने अन्य २४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा आगोको ज्वाला र धुवाँको मुस्लो रातको आकाशमा माथिसम्म पुगेको देखिएको छ ।

विस्फोटबाट आसपासका केही घरका झ्यालहरू फुटेका थिए भने भित्री भागमा क्षति पुगेको थियो ।

घटनास्थलमा रहेका एएफपीका एक सम्वाददाताका अनुसार उद्धारकर्मीले आगलागीको केही घण्टापछि आगो नियन्त्रणमा लिएको र उद्धारमा खटिएका एक एम्बुलेन्सका घाइते कर्मचारीलाई बाहिर निकालेका छन् । पनि विस्फोटको आवाज आगलागी भएको केही घण्टापछि पनि सुनिएको थियो ।

उज्बेकिस्तानको राष्ट्रिय समाचार संस्था उजाका अनुसार देशको सबैभन्दा ठूलो विमानस्थल आगलागीपछि पनि सामान्य रूपमा सञ्चालनमा छ ।

उज्बेकिस्तान मध्य एसियाली पूर्व सोभियत गणराज्यहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पुराना उपकरण र सुरक्षा मापदण्डको पालना नहुनुका कारण आगलागी हुनुलाई यहाँ सामान्य र नियमित घटनाका रूपमा हेरिन्छ ।