ब्रेकिङ न्युज

‘देश बचाउन राजनीतिमा आयौं’ भन्दै रविको दाबी, परराष्ट्र नीतिमा आर्थिक एजेन्डा अघि

९ असार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको लोकतन्त्र नेतातन्त्र र विचौलियातन्त्रको चपेटामा परेको आरोप लगाएका छन्।

पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, अवसरवाद र विचौलियाको प्रभावका कारण देशको शासन व्यवस्था कमजोर बनेको उल्लेख गरेका छन्। पुराना दलहरूलाई लक्षित गर्दै उनले तिनलाई ‘पहाड होइन, फोहोरका थुप्रा’ को संज्ञा दिएका छन्।

त्यस्तै, रास्वपाले परराष्ट्र नीतिलाई परम्परागत कूटनीतिक सम्बन्धमा सीमित नराखी ‘विकास कूटनीति’ मा केन्द्रित गर्ने नीति सार्वजनिक गरेको छ। पार्टीले परराष्ट्र नीतिलाई आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमका रूपमा उपयोग गर्ने रणनीति अघि सारेको छ।

प्रतिवेदनमा भारत र चीनसँग सन्तुलित सम्बन्ध, तथ्यमा आधारित सीमा व्यवस्थापन, विश्वभरका नेपालीको ज्ञान र लगानीलाई राष्ट्रिय विकासमा जोड्ने तथा नेपाललाई क्षेत्रीय आर्थिक र सांस्कृतिक पुलका रूपमा विकास गर्ने लक्ष्यसमेत उल्लेख गरिएको छ।