३० असार, काठमाडौं । सरकारको कार्यशैली र पछिल्ला विवादित घटनाक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि बढ्न थालेको छ । सरकार सञ्चालनमा पार्टी नेतृत्वसँग पर्याप्त समन्वय नभएको भन्दै सभापति रवि लामिछाने पक्ष र सरकार पक्षबीच दूरी बढ्दै गएको देखिएको छ ।
विशेषगरी सुकुमवासी व्यवस्थापन र सञ्चार गृह तथा विपक्षी नेताका निवास अगाडि शंकास्पद सवारीसाधन राखिएको घटनाले रास्वपाभित्र बहस चर्काएको हो ।
सरकारले नदी किनारका सुकुमवासी बस्ती हटाउने निर्णय गर्दा पार्टी नेतृत्वसँग पर्याप्त छलफल नगरेको भन्दै केही रास्वपा नेताहरूले असन्तुष्टि जनाएका छन् । सुरक्षित व्यवस्थापनको प्रतिबद्धता गरिए पनि अस्थायी स्थानान्तरणपछि प्रभावितहरू थप समस्यामा परेको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाइएको छ ।
रास्वपा सचेतक क्रान्तिशिखा धितालले सुकुमवासी व्यवस्थापन संवेदनशील र योजनाबद्ध हुनुपर्ने भए पनि त्यसअनुसार काम हुन नसकेको टिप्पणी गरेकी छन् ।
त्यस्तै, सञ्चार गृह र केही सार्वजनिक स्थानमा शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाले पनि सरकारमाथि प्रश्न उठाएको छ । उक्त घटनाप्रति रास्वपाले विज्ञप्ति जारी गर्दै सञ्चार स्वतन्त्रतामाथि असर पार्ने गतिविधि स्वीकार्य नहुने जनाएको छ ।
सभापति रवि लामिछानेले पनि गलत गतिविधिमा संलग्न व्यक्ति आफ्नै पार्टीका भए पनि कारबाही हुने बताएका छन् । उनले शंकास्पद गाडी राख्ने कार्य अस्वाभाविक भएको भन्दै पार्टी आफ्नो अडानमा कायम रहेको स्पष्ट पारे ।
यसबीच सरकारको कार्यशैलीलाई लिएर रास्वपाका केही नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाउन थालेका छन् । पार्टी र सरकारबीच समन्वय कमजोर हुँदै गएको संकेत देखिएसँगै आगामी दिनमा आन्तरिक विवाद थप बढ्ने सम्भावना देखिएको छ ।





