३० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद सजाय सुनाएको छ ।
अदालतले पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना निर्धारण गरेको हो ।
पाण्डेलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।
ती सबै सजायलाई एकीकृत गर्दै अदालतले अन्तिम रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना कायम गरेको हो ।
नक्कली शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाउने भन्दै रकम असुलेको आरोप लागेको यो प्रकरणमा जिल्ला अदालत काठमाडौंले यसअघि दोषी ठहर भएका अन्य प्रतिवादीहरूको समेत सजाय निर्धारण गरिरहेको छ ।





