१८ असोज,बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई कसका विरुद्ध जनता सडकमा उतार्छौं भनेको भन्दै प्रश्न गरेका छन् ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका-६ बेथरीमा सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्ने प्रश्न गरे ।
उनले अघि भने, “हामी पनि सरकारमा छौं, प्रचण्ड हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ, अनि कसको विरुद्ध लाखौं मानिस सडकमा ल्याउने भन्दै हुनुहुन्छ ? प्रचण्डजीले २०८४ मा माओवादीलाई बहुमत दिए प्रदेशको नामाकरण फेरेर जातीय आधारमा बनाउँछौं भन्नुभयो, त्यसमा पनि हाम्रो आपत्ति छ ।”
त्यस्तै, नेता कोइरालाले नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक भएको र कुनै जातजातिको बाहुल्य नभएकाले जातीय राज्यमा जान नसक्ने स्पष्ट पारे । उनले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा जोड दिए ।
त्यस्तै, नेता कोइरालाले २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।





