राजनीति

इजरायल आक्रममा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

२२ असोज, काठमाडौं । सरकारले इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ”, मन्त्री शर्माले भनिन् ।

मन्त्री शर्माका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशिघ्र ल्याउने तयारी छ । मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।

इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।