राजनीति

इजरायल आक्रमणमा घाइते भएकाहरुको उपचार सरकारी खर्चमा गर्न कांग्रेसको माग

२३ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ ।

बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको छ । मृतकको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन कांग्रेसले माग गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

महामन्त्री शर्माका अनुसार बैठकले घटनामा घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गर्न र सुरक्षित स्थानमा राखेर आवास र भोजनको व्यवस्था माग गरेको महामन्त्री शर्माले जानकारी दिए । साथै स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउन समेत सरकारसँग माग गरिएको उनले बताए ।