६ मङ्सिर, सुन्दरहरैंचा (मोरङ) ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइरालाले पार्टी भित्रका चुनौती र द्वन्द्व अन्त्य गरेर लोकतान्त्रिक पद्धतिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । उनले काँग्रेस एक्लै लडेर बहुमत ल्याउने पार्टीको रुपमा विकास गर्नुपर्छ भनेका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आज आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न नसकेकामा चिन्ता व्यक्त गरे । सरकारले सुशासन कायम गर्न नसक्दा विकृतिले प्रश्रय पाएको उल्लेख गर्दै नेता कोइरालाले भ्रष्ट्राचारमुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार चलाउन कसैसँग सम्झौता नगर्ने उल्लेख गरे । सरकारले पार्टीको शिर ठाडो हुने गरी काम गर्ने उनले बताए । सम्मेलनमा जिल्लाभरका तीन हजार पाँच सय बढी प्रतिनिधिको सहभागिता रहको पार्टीका जिल्ला सचिव ललित श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेस मोरङको सम्मेलन उदघाटन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, साथमा कांग्रेस केन्द्रीय सदस्यहरु, डा मिनेन्द्र रिजाल, अमृत अर्याल, डिला संग्रौला, भिम पराजुली, पुर्व केन्द्रीय सदस्यहरु, महेश आचार्य, गुरु घिमिरे, तेजप्रसाद सिटौला, कबिता सरदार, रामकृष्ण भट्टराई, हसन अन्सारी, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू लगायतको उपस्थिति रहेको थियो ।






