९ असार, काठमाडौं । दक्षिण एसियाली फुटबलका चर्चित खेलाडी तथा भारतका पूर्व कप्तान भाइचुङ भुटिया फिफा विश्वकप २०२६ सम्बन्धी विशेष कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका छन्।
उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई हिमालय स्पोर्ट्सका सीईओ सुरज गिरीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
भुटिया विश्वकप २०२६ का विशेष प्रिम्याच तथा पोस्ट म्याच कार्यक्रमहरूमा सहभागी हुनेछन्। आजै बेलुका हुने कार्यक्रममार्फत उनी नेपाली दर्शकमाझ प्रस्तुत हुने हिमालय स्पोर्ट्सले जनाएको छ।
कार्यक्रममा नेपाली फुटबल खेलाडी तथा अन्य खेलकुद व्यक्तित्वहरूको समेत सहभागिता रहनेछ।
‘सिक्किमीज स्नाइपर’ उपनामले परिचित भुटिया भारतीय फुटबलका सफल खेलाडीमध्ये एक हुन्। उनले भारतका लागि सयभन्दा बढी खेल खेल्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन्।
उनको उपस्थितिले नेपालमा विश्वकप २०२६ प्रसारण अभियानलाई थप आकर्षक र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ।






