राजनीति

भ्रष्टाचार देश विकासको बाधकः डा चन्द्र भण्डारी

८ मङ्सिर, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचार देशका लागि ठूलो रोग भएकोे भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताए ।

गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते हुनुभएका गुल्मी क्षेत्र नं १ बाट निर्वाचित सांसद भण्डारी दुर्घटनामा परेको नौ महिनापछि पहिलो पटक गृह जिल्ला गुल्मी आइपुगेका छन्। 

डा भण्डारीले रेसुङ्गा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुलुक नबनेसम्म भावी सन्ततिका भविष्य पनि नबन्ने भन्दै आफूहरू मुलुक बनाउने अभियानमा लागेको बताए । नेपाल संसारको सबैभन्दा राम्रो देश भएको भन्दै उनले मुलुक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गरे । गुल्मीलाई नेपालको नमूना जिल्ला बनाउन आफूले कोरेको विकासको गोरेटालाई पूर्णता दिने काममा सधैँ लागिपर्ने उनले विश्वास दिलाए  ।  

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु हुन गइरहेको कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डा भण्डारी गुल्मी आएका हुन् । दुर्घटनापश्चात् पहिलो पटक पुनर्जीवन पाएर जिल्लामा आएका उनको आगमनले आम जिल्लावासीमा थप खुसी र उत्साह थपिएको कांग्रेसको जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले बताए । 

दोस्रो जिल्ला सम्मेलनमा कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु शनिबार गुल्मी आउने कार्यक्रम रहेको पार्टी सभापति पन्थीले जानकारी दिए ।