राजनीति

दशौं हजारको भीडमा गगन थापाले राजा ज्ञानेन्द्रलाई भने, ‘राजनीति गर्न मन भए चुनाव लड्न आउनुस्’

९ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राजालाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । उनले गुल्मीको एक काँग्रेसको कार्यक्रममा बोल्दै हिजो राजाहरुकै कारण राजसंस्था समाप्त भएको स्मरण गर्न आग्रह गर्दै अब राजनीति गर्न नै मन भए पार्टी खोलेर चुनाव लडे काँग्रेस राजासँग चुनाव लड्न तयार रहेको बताए ।

उनले भने, ‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ । पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ’
आज झापामा राजतन्त्र फर्काउन भएको राजाबादीहरुको प्रदर्शनलाई संकेत गर्दै राजाको छोरा राजा हुने र २०१७ साल पौष १ गते बिपी कोईरालाको निर्बाचित सरकारलाई अपदस्त गर्ने राजसंस्थाले निकै गल्ती गरेका कारण राजसंस्था असफल भएको र समाप्त भएको जिकिर गरेका छन् । दशौं हजार जनताको भीडमा काँग्रेसका महामन्त्री गगन कुमार थापाले उक्त कुरा बताएका हुन् । महामन्त्री थापाले च्याँखे थापेर नबस्न आग्रह गर्दै मन भए काँग्रेससँग निर्बाचन लड्न तयार रहन आग्रह गर्दै मौका पाउँदा मन्दीरको मूर्ति बेच्नेहरुले धर्म बचाउछ भन्नु मूर्खता भएको बताए ।

महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राखेका छन् ।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे।

“अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ”, उनले भने, “गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन ।” नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ । 

गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा भएको कार्यक्रममा नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताए । देशमा थुप्रै कमीकमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उनले अन्य विकल्प खोज्न नपर्ने बताए ।