९ मङ्सिर, काठमाडौं । महिला माथि हुने हिंसा विरुद्धको १६ दिने बिश्वव्यापी अभियानको अवसर पारेर ओरेकले सधै झै यो बर्ष पनि महिला हिंसा विरुद्धको यथार्थता समेटिएको संस्थाको वर्ष पुस्तक अन्वेषीको लोकार्पण गरेको छ । नोभेम्बर २५, २०२३ का दिन महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको दिन पारेर “संकुचित नागरिक स्थान, लैङ्गिक हिंसा र नागरिक समाजको भूमिका” विषयक वेभिनार कार्यक्रम मार्फत यो पुस्तकको लोकार्पण भएको छ ।
उक्त पुस्तक मानव अधिकार एलायन्सका अध्यक्ष मीन वहादुर शाही तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष कुन्दन अर्यालद्धारा संयुक्त रुपमा लोकार्पण गरी सार्वजनिक गरिएको हो । उक्त अवसरमा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका माननिय सदस्यहरु, प्रदेश सभाका माननिय सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतनिधिहरु, महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि लगायत सामाजिक अभियानमा सम्लग्न महिला मानव अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उक्त पुस्तक लोकार्पण कार्यक्रम ओेरेकका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीद्वारा सहजिकरण गरिएको थियो । संस्थाका अध्यक्षसमेत रहेका रेणु अधिकारीले अन्वेषीमा आएका तथ्याङ्क महिला हिंसाका प्रकृति झल्काउने एक माध्यम भएको र सधै झैं महिला अधिकारका सवालमा राज्य मौन रहेको यथार्थ भएकाले यसको दिगो निराकरणका लागि सामाजिक अभियन्ता र नागरिकले प्रभावकारी भूमिका खेल्न पर्नेमा जोड दिएका थिए ।
ओरेकले सन् २००८ देखि अन्वेषी नामक बर्ष पुस्तक प्रकाशन गरी महिला हिंसा विरुद्धको १६ दिने अभियानमा लोकार्पण गर्दै आएको छ । यस वर्षको अन्वेषीमा ओरेक कार्यरत विभिन्न जिल्लाबाट हिंसा सम्बन्धी जुलाई २०२२ देखि जुन २०२३ सम्म संकलन गरिएका महिला माथि भएका लैङ्गिक हिंसाका घटनाको तथ्याङ्क अभिलेखिकरण गरी त्यसको बहुपक्षिक विश्लेषण गरी उक्त पुस्तक तयार पारिएको हो । पुस्तकमा महिलामाथि हुने हिंसाका विभिन्न स्वरुप जस्तै घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, मानव बेचविखन, यौन हिंसा, आत्महत्या, मनोरञ्जन क्षेत्रमा हुने हिंसा, हानीकारक परम्परागत अभ्यासले निम्त्याएको हिंसा र महिलाको न्यायमा पँहुचको अवस्थालाई विश्लेषण गरिएको छ साथै हिंसा गर्ने पीडक समेतको बहुपक्षिय विश्लेषण गरिएको छ ।
यस महिला हिंसा विरुद्धको विश्लेषणात्मक वर्ष पुस्तक अन्वेषीमा आर्थिक वर्ष २०७९÷०८० को समयावधिमा ओरेक नेपालले ७ वटै प्रदेशमा जम्मा १४०९ महिलामाथि भएका हिंसाका घटनाको अभिलेखीकरण गरेको छ । यस वर्ष संकलित तथ्याङ्क अनुसार प्रदेश नं. १ बाट सबैभन्दा धेरै हिंसाका घटना अभिलेखीकरण भएका छन् । प्राप्त तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेश नं. १ मा ३५ प्रतिशत (४९६ जना), प्रदेश नं. २ मा ३३ प्रतिशत (४५९ जना), बागमती प्रदेशमा २ प्रतिशत (३१ जना), लुम्विनी प्रदेशमा १३ प्रतिशत (१८० जना), गण्डकी प्रदेशबाट जम्मा ०.१४ प्रतिशत (२ जना), कर्णाली प्रदेशमा ९ प्रतिशत (१२१ जना), सुदूरपश्चिम प्रदेशमा ८ प्रतिशत (११७ जना) महिलामाथि हिंसा भएको पाइएको छ । यस बाहेक पनि अन्य ठाँउ (भारतको विभिन्न स्थान) बाट जम्मा ३ जना अर्थात ०.२१ प्रतिशत महिलामाथि भएका विभिन्न प्रकारका हिंसाका घटना ओरेक नेपालमा अभिलेख गरिएको छ ।
अभिलेखिकरण गरिएका कुल तथ्याङ्क मध्ये घरेलु हिंसाका घटना सबै भन्दा बढी अर्थात ६५ प्रतिशत, सामाजिक हिंसा १२ प्रतिशत रहेका छन भने प्रभावित हुनेहरुको उमेर समुहलाई हेर्दा २५ वर्षदेखि ३५ वर्ष उमेर समुहका महिलाहरु त्यसमा पनि विवाहित र साक्षर महिलाहरु बढी रहेको पाइएको छ । त्यस्तैगरि घरायसी काममा सम्लग्न ४२ प्रतिशत महिलाहरु हिंसा प्रभावित रहेको पाइएको छ ।
अभिलेखिकरण भए अनुसार हिंसा गर्ने पीडकहरुमा श्रीमान् र घरका आफन्तहरु सवैभन्दा बढी रहेको पाइएको छ जसको कुल योग ६९ प्रतिशत हुन आउँछ । यसबाट महिलाहरु आफ्नै घरमा आफन्तहरुबाट नै बढी असुरक्षित हुने तथ्याङ्कले देखाएको छ । अन्वेषीमा अभिलेखिकरण गरिएका तथ्याङ्कबाट महिलाहरुमाथि हिंसा सबै वर्ग, जाति, उमेर समुह, शैक्षिक अवस्था, पेशामा हुने गरेको पाइएको छ ।
यस पुस्तकको लोकार्पण समारोहका वक्ता तथा सहभागिहरुले यस किशिमका महिला हिंसाका घटनाको न्यूनीकरणका साथै समग्र महिला मानव अधिकारको सुनिश्चितताका लागि सरकारलाई जवाफदेही बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको र अबका अभियानमा साझा धारणाको विकास गरी साझा अभियानको थालनी गर्नु पर्ने कुरामा जोड दिइएको थियो । सहभागीहरुले महिला हिंसाका जघन्य अपराधमा न्याय मौन भएको वर्तमान अवस्थामा प्रभावितको न्यायसम्मको पँहुच सुनिश्चित गर्न नागरिक समाजको प्रभावकारी सहकार्यको आवश्यकता रहेको बताएका थिए ।
महिला अधिकारको लागि संयुक्त आन्दोलनको बिकल्प छैन
देशमा संघिय लोकतान्त्रिक व्यवस्था स्थापनाको १७ वर्ष भइसक्दा पनि महिलाको स्वतन्त्रता, मर्यादित र समाजमा आत्मसम्मान सहित बाँच्न पाउने अधिकार, समानताको अधिकार, यातना र भयरहीत जीवन बाँच्न पाउने अधिकार, स्वः निर्णयको अधिकार जस्ता आधारभूत मानव अधिकारहरु सुनिश्चित हुन नसकेको कारण देश भर महिलामाथि हिंसा भैरहको छ भन्ने यथार्थता यो अन्वेषी मार्फत सार्वजनिक गर्नु पर्दा हामीलाई दुःख लागेको छ । घर, समाज, सार्वजनिक निकाय वा कार्य स्थल सबै ठाँउमा महिलाहरु आफ्ना, आफ्ना नजिकका, आफ्ना चिनजानका व्यक्तिहरुबाटै हिंसाबाट प्रताडीत हुनु परेको, सबै भन्दा बढी असुरक्षित रहेको स्थितिले हाम्रो देशमा लोकतन्त्र आएपनि महिलाको जीवनमा लोकतन्त्रलाई अनुभूत गर्न सक्ने वातावरण बन्न अझ धेरै काम गर्नु पर्नेछ भन्ने देखाएकोछ ।
यो स्थितिले हाम्रो देशमा राजनीतिक परिवर्तन भए पनि सोचगत परिवर्तन हुन नसकेको प्रष्ट बनाउँछ । साथै यसले निरन्तरता पाइरह्यो भने महिलामाथि हुने हिंसाले त निरन्तरता पाँउछ नै, यसको साथै देशमा स्थापित लोकतन्त्र पनि स्थिर हुन सक्दैन भन्ने तर्फ सबैलाई सचेत गराउँछ । तसर्थ महिलाको मानव अधिकार सुनिश्चितताका लागि सबै मानव अधिकारकर्मीहरुले संयुक्त रुपमा समाज रुपान्तरणको आन्दोलनको सुरुवात गर्नुपर्ने कार्यक्रमको निष्कर्श छ ।
यस पुस्तकले महिलामाथि हुने हिंसाको अवस्था र प्रभावितको न्यायमा पँहुचको अवस्थाको विश्लेषण गरी समग्र महिला मानव अधिकारको हनन्को अवस्था र यसको सम्बोधनका लागि स्थानीय तहदेखि राष्ट्रिय तहका सरकारलाई नीति निर्माण, यसको कार्यान्वयन र संयन्त्रको सवलीकरण तथा महिला हिंसामा चासो राख्ने अनुसन्धानकर्ता तथा विद्यार्थीलाई सहयोग पु¥याउनुका साथै सरोकारवालाहरुलाई नीतिगत पैरवीका लागि पैरवीको साधनको रुपमा सहयोग पु¥याउने विश्वास संस्थाले लिएको छ ।
संस्थाले यस कार्यक्रमका साथै आज देशब्यापी रुपमा महिला हिंसा बिरुद्धको दिवस बिभिन्न कार्यक्रम गरी देशका विभिन्न जिल्लाहरुमा मनाएको छ । १६ दिन भरी नै बिभिन्न अभियानमूलक गतिबिधिहरु सम्बन्धित जिल्लाका सरोकारवाला निकायसँग समन्वय गरी लैङ्गिक न्यायको लागि सधैँ आवाज बुलन्द पारिरहन नागरिक अभियन्ताहरुलाई संस्थाका तर्फबाट आह्वान गरिएको कुरा कार्यक्रमको संयोजन गरिरहेकी ओरेक कर्मचारी कमला पोखरेलले बताइन् ।