खेलकुद

१६ औं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ १२ देखि हुने

काठमाडौं । १६ औं ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा हुनेछ । मंगलबार आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मानवीर छन्त्यालले कोरोना महामारी र भलिबल संघको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न लागेको बताए ।

‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौं, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौं’ उनले भने । २०६२ सालमा सुरु भएको ढोरपाटन महिला डबल लिग २०७६ सम्म लगातार आयोजना भएको थियो । यसवर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने अध्यक्ष छन्त्यालले बताए ।

प्रतियोगिताका खेलहरु डबल राउण्ड रोविन लिगका आधारमा हुनेछ । उपत्यका बाहिरको टिमलाई खान बस्नका लागि ८० हजार रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ । यस पटक प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेर बिजेतालाई ५ लाख १ हजार र उपविजेतालाई २ लाख ५० हजार दिइने भएको छ ।

तेस्रो हुनेले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ भने विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि ५१ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने क्लबको अनुमान छ । ढोरपाटन भलिबलको उपाधि हालसम्म सबैभन्दा धेरै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ७ पटक जितेको छ भने पोखराको ज्ञानुबाबा स्कुलले ५ पटक जितेको छ । यस्तै नेपाल पुलिस क्लब, रिड मोडल कलेज र बृभुवनले एक(एक पटक उपाधि जितेका छन् ।