खेलकुद

आइटिएफ टेनिसः नेपाली मूलका आरबको समूह च्याम्पियन


कास्की ।  पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० प्रतियोगितामा पुरुष डबल्सतर्फ नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी च्याम्पियन बनेको छ । 
 महिलातर्फ भने जापानका उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुन सफल भयो । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न डबल्सतर्फको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ मा पराजित गरी आरभ र रिकुको जोडी प्रथम हुन सफल भयो ।

	महिलातर्फ भारतका भेनेला रेडी गारुगुपाटी र सायवी गौरव दलालको जोडीमाथि आसाकुरा र महेश्वरीको जोडीले ६–३, ६–३ मा जीत हासिल गरेको हो  । 
यसैगरी प्रतियोगिताको पुरुषतर्फ   उपाधिका  लागि आरब सम्राट हाडा र एलेक्से सिवोइले प्रतिस्पर्धा गर्नेछन् ।

	पुरुष एकलतर्फको आज सम्पन्न सेमिफाइनलको खेलमा आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जीत हासिल गर्दै फाइनलमा स्थान बनाए । महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवाला फाइनल पुगेका छन्।
 आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका शर्मालाई ६–१, ६–० मा पराजित गर्दै फाइनलमा स्थान बनाए।

  दुई सातादेखि सञ्चालन भइरहेको प्रतियोगिताको समापन शनिबार हुने आयोजक कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए। प्रतियोगिताको डबल्सतर्फको विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रतियोगिता निर्देशक अजय विष्ट लगायतले पदक तथा प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । 

	प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गरेका छन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ ।

	विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, ‘सेमिफाइनलिष्ट’ले नौ, ‘क्वाटरफाइनलिष्ट’ले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क पाउने प्रतियोगिता निर्देशक विष्टले बताए।