समाचार

धरौटी बुझाएपछि भुटानी शरणार्थी नेता रिजाल रिहा

११ पुस, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् ।

उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर आज रिहा ुभएका हुन् । उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि आज रिहा भएके उनीका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुप¥यो । गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा ुभएको हुन् ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेको छन् । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन् ।