समाज

सडक सञ्जालले सुगम बन्दै दुर्गमका स्थानीय तह

१५ पुस, काभ्रेपलाञ्चोक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काभ्रेपलाञ्चोकको छ गाउँपालिकालाई दुर्गम स्थानीय तहमा सूचीकृत गरेको छ । मन्त्रालयले हालै गरेको वर्गीकरणमा देशभरका स्थानीय तहलाई सुगम र दुर्गमका आधारमा विभाजन गरेको छ । काभ्रेपलाञ्चोकको तीन तह सुगम, छ तह दुर्गम र चार तह मध्यममा परेका हुन् ।

मन्त्रालयको वर्गीकरण अनुसार जिल्लाका तीन पुराना नगरपालिका बनेपा, धुलिखेल र पनौती सुगममा परेका छन् । खानीखोला, चौँरीदेउराली, तेमाल, बेथानचोक, भुम्लु र महाभारत गाउँपालिका दुर्गममा परेका छन् । 

यस्तै अन्य चार तह पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिका मध्यममा सूचीकृत भएका हुन् । मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई चार वर्गमा वर्गीकरण गरेको थियो ।

दुर्गममा वर्गीकृत गाउँपालिकामध्ये जिल्लाको दक्षिणी क्षेत्र (डाँडापारी)का महाभारत र खानीखोलालाई हालैमात्र निर्माण सुरु गरिएको दुई सडक सञ्जालले सुगमतातर्फउन्मुख गर्दैछ । यी दुई तह पक्की सडकमार्फत काभ्रेपलाञ्चोक हुँदै जाने दुई राजमार्गले अरनिको र बिपीसँग जोडिएर सुगमतातर्फ डो¥याउने भएका हुन् । गत साता मात्रै रोशी–महाभारत–खानीखोला जोड्ने जनमुक्ति मार्ग ७५ किलोमिटर र बनेपा–पनौती–बेथानचोकको ढुङ्खर्क–च्याम्राङबेंसी–ललितपुरको सुकुमफेदी हुँदै मकवानपुरको झुरझुरेसम्म ३८ किमी सहायक मार्गका रुपमा निर्माण थालनी गरिएको छ । 

सहायक मार्ग निर्माणका लागि पहिलो चरणमा रु पाँच करोड ८२ लाख ९७ हजार पाँच सय ६५ मा सम्झौता गरिएको छ । सम्झौताअनुसार निर्माणको जिम्मा लिएको जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जेभी काठमाण्डौँ दुई वर्ष अर्थात् २०८२ असोज २४ गते सम्पन्न गर्नु पर्नेछ । यस्तै ७५ किमी सडकअन्तर्गत पहिलो चरणमा देवीटारबाट गोकुलेस्थित लबडाँडासम्म कालोपत्र गर्न रु ३९ करोड ७४ लाख ५५ हजार १८ मा १८ महिनामा सक्नेगरी निर्माण सम्झौता गरिएको छ ।

महाभारतस्थित गोकुलेका शिक्षक खुबनाथ दुलाल दुई मार्गको निर्माण सम्पन्न भएपछि डाँडापारीका नागरिकलाई शिक्षा, स्वास्थ्य सेवामा थप सहजता हुने तथा उत्पादित खाद्यान्न लगायत बिक्रीका लागि सजिलो हुने बताउछन् । उनी भन्छन्  “दुर्गमलाई सुगम बनाउन मुख्यरुपमा पक्की सडक चाहिने रहेछ, त्यसपछि अन्य पूर्वाधार बनाउन निकै सजिलो हुन्छ ।” उनका अनुसार दुई मार्गको निरन्तरको निर्माणले डाँडापारीका दुई गाउँपालिकालाई एक÷दुई वर्षमै सुगमताउन्मुख गराउने विश्वास लिइएको छ । 

जनमुक्ति मार्ग बिपी राजमार्गबाट मदन भण्डारी राजमार्गसँग जोडिन्छ भने बनेपाबाट सुरु भएको झुरझुरेसम्मको सडकले अरनिको राजमार्गबाट मदन भण्डारी राजमार्ग जोड्छ । यी दुवै मार्गको निर्माण सम्पन्न भएपछि डाँडापारीका नागरिकलाई सहरी क्षेत्रसँग पहुँच पु¥याउन सहज हुनेछ । 

सडक आयोजनाअन्तर्गत जनमुक्ति मार्गको पहिलो खण्ड तीनखुट्टे–देवीटार सडक, देवीटार–घर्तीछाप–गोकुले–ताल्ढुँगा–भोर्लेनी–झुरझुरे सडक, बिपी राजमार्गको पिन्थली–रजबास खण्ड र रजबास–देवीटार खण्ड रहेको छ । दुई सडकखण्डको निर्माण प्रारम्भ भएसँगै थप दुई खण्डको बोलपत्र गरिने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

पक्की सडक निर्माण भएपछि स्थानीयस्तरमा उत्पादित खाद्यान्नलगायत सामग्रीलाई सहजरुपमा बजार पु¥याउन सकिनेछ भने नागरिक बिरामी हुँदा सुविधानसम्पन्न अस्पताल पु¥याउन सहज हुन्छ ।

स्थानीय सरकारको सक्रियता, प्रदेश र सङ्घ सरकारको समन्वयमा विकट पालिका सुगमतामा परिणत हुन थालेको बताइन्छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा बजेट विनियोजनका हिसाबले महाभारतको विकासमा फड्को मार्न सकिने बताउछन् । “भौगोलिकता, निर्माण व्यवसायीको ढिलासुस्ती तथा अन्य विविध कारणले विनियोजन गरिएको बजेट खर्च हुन नसक्दा भने दुःख लाग्छ”, उनी भन्छन् । 

–––